Phone:+977-082- 400010 / 400016 / 400071         Contact Us | Feedback
No Image

विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप कार्य सञ्चालन गर्नका लागि परीक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ । परीक्षा आफैमा जति संवेदनशील छ, त्यति नै चुनौतीहरू बोकेको निकाय पनि हो । परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित गतिविधिहरू एकातिर शिक्षार्थीहरूको भविष्यसँग गाँसिएका हुन्छन् भने अर्कातिर विश्वविद्यालयको प्रतिष्ठासँग जोडिएका हुन्छन् । हामी आवश्यक मापदण्ड पूरा नगरी सामान्य विशेष नबनोस्‌मा जति सचेत रहन्छौँ, विशेष सधैँ विशेषमै आउनुपर्छ भन्नेतर्फ पनि त्यति नै सचेत रहनु आवश्यक हुन्छ । कहिलेकाहीँ हामीले सञ्चालन गर्ने क्रियाकलापमा वैयक्तिक प्रभाव पर्‍यो भने त्यसले ल्याउने नतिजा पनि प्रभावित हुन सक्ने सम्भावना रहन्छ ।

          परीक्षार्थीको मूल्याङ्कन गर्नका लागि विभिन्न परीक्षाहरू लिइन्छन् । मूल्याङ्कन औपचारिक होस् वा अनौपचारिक त्यसले शिक्षार्थीको योग्यता र क्षमताको मापन गर्दछ । विशेष गरी शिक्षार्थीको विविध सामर्थ्य मापन गर्नु नै मूल्याङ्कनको मुख्य उद्देश्य हो । हाम्रो मूल्याङ्कन प्रणाली, मूल्याङ्कनमा प्रयोग गरिने साधनहरू, मूल्याङ्कनमा संलग्न विज्ञ तथा जनशक्ति सबै वैज्ञानिक, स्तरीय, दक्ष र अनुशासित हुनुपर्ने कुरामा कसैको विमति रहँदैन । मूल्याङ्कन प्रणालीलाई समयसापेक्ष बनाउन जति खाँचो छ, त्यसमा संलग्न पक्षका बिचमा समन्वय र सहकार्यको आवश्यकता रहन्छ नै । मूल्याङ्कन वस्तुको गुण र वा विशेषतालाई परिमाण वा सङ्ख्यामा रूपान्तरण गर्न र त्यसलाई विश्लेषण गरेर परिणाम निकाल्ने काम भएको हुनाले यो आफैमा संवेदनशील र चुनौतीपूर्ण विषय हो । मूल्याङ्कनबाट प्राप्त परिणाम वैध भएर मात्र पुग्दैन पारदर्शी र विश्वसनीय पनि हुनुपर्छ । दृढ इच्छाशक्ति र उच्च मनोबलका साथ गरिएका जुनसुकै कार्य परिणाममुखी र फलदायी हुनसक्छन् भन्ने विचारलाई हृदयङ्गम गरेर विश्वविद्यालयको हित हुने कार्य गर्नु हामी सबैको दायित्व हो ।                                                                                                                     

 

डा‍. बाबुराम आचार्य

  परीक्षा नियन्त्रक

2021-03-09 14:11:58