नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले बेलझुन्डी दाङमा २०४३ साल मंसिर २५ गतेका दिन विधिवत् रूपमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को स्थापना भएको हो । नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले सुरुवात गरेको कामलाई राजा वीरेन्द्र वीरविक्रम शाहको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । संस्कृत विश्वविद्यालयको स्थापनामा संस्कृत शिक्षाको संरक्षण तथा उन्नयनका लागि दाङ जिल्लासहित देशका विभिन्न स्थानका संस्कृत शिक्षाप्रेमीहरूको उल्लेख्य योगदान रहेको छ । त्यसका लागि २०१० सालमा दाङका शिक्षाप्रेमी तथा स्थानीय मजगैयाँ परिवारबाट दाङको देउखुरी उपत्यकामा १२०० (बाह्र सय) बिगाहा भूमिदान गरी यस विश्वविद्यालयको पृष्ठभूमि तयार गरिएको हो । त्यसैको फलस्वरूप २०११ सालमा दाङस्थित बिजौरीमा जनता महाविद्यालयको स्थापना भयो र २०२४ सालमा सोही स्थानमा अन्तर्राष्ट्रियस्तरको विद्वत्सम्मेलन सम्पन्न भयो । सोही पृष्ठभूमिमा २०२६ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गर्ने घोषणा गरियो । योगी नरहरिनाथको नेतृत्वमा स्थानीय शिक्षाप्रेमी तथा अन्य संस्कृत अनुरागी व्यक्तिहरूबाट दानस्वरूप ३२६ बिगाहा जग्गा सङ्कलन गरियो र २०३१ सालमा दाङको बेलझुण्डीमा संस्कृत अध्ययन संस्थान डीनको कार्यालयको स्थापना भयो । यसरी नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाको आधारभूमि निर्माण भएको हो । २०४३ सालमा ऐन बनी तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । नेपालमा गणतन्त्रको स्थापनापछि २०६३ सालमा यसको नाम परिवर्तन भई नेपाल संस्कृत विश्वविद्यालय रहन गयो ।
नेपाल संस्कृत विश्वविद्यालय स्थापनाका उद्देश्यहरू
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङ जिल्लाको बेलझुण्डीमा रहेको छ । केन्द्रीय कार्यालय परिसरमा उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, कुलसचिवको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, अनुसन्धान केन्द्र, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, सेवा आयोगको कार्यालय, केन्द्रीय पुस्तकालय र आयुर्वेद अध्ययन संस्थान डीनको कार्यालय रहेका छन् । केन्द्रीय कार्यालय रहेको स्थानको वरिपरि जम्मा ३ सय २६ बिगाहा जग्गा रहेको छ । यस कार्यालय परिसरमा रहेको जग्गामा आँप, बेल, रुद्राक्षलगायतका विभिन्न जातका रुख बिरुवा लगाइएको छ । यसै कार्यालयबाट नेपाल संस्कृत विश्वविद्यालयका सम्पूर्ण गतिविधिहरू सञ्चालित छन् ।